site stats
बाह्रखरी :: Baahrakhari
देश
‘निर्मला हत्याको अनुसन्धान सकारात्मक बाटोमा छ, छिट्टै नतिजा निस्कन्छ’
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले निर्मला पन्त बलात्कार-हत्या प्रकरणको अनुसन्धान सकारात्मक दिशातर्फ अघि बढेको जनाएको छ ।

कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा साढे दुई वर्ष बितिसक्दा पनि अभियुक्तको पहिचान हुन सकेको छैन । एक दर्जन बढी टोलीबाट अनुसन्धान गरिएको निर्मला प्रकरणमा प्रहरीकै अधिकारी कारबाहीमा परेका थिए । गलत अनुसन्धान गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी अनुसन्धान सकारात्मक दिशातर्फ अगाडि बढेको बताउँछन् । डीआईजी सुवेदीले बाह्रखरीसँग भने, “हामी सूक्ष्म रुपमा अनुसन्धानमा छौँ । चाँडोभन्दा चाँडो नतिजामा पुर्‍याउने गरेर अनुसन्धानको दायरा साँघुरो बनाउँदै अन्तिम अवस्थामा छौँ । चाँडोभन्दा चाँडो लक्ष्यमा पुग्ने अर्जुनदृष्टिका साथ अगाडि बढेका छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लामो समय भएकाले सबुत प्रमाण संकलन नै ठूलो चुनौती भएको डीआईजी सुवेदी बताउँछन् । अदालतमा प्रमाणित हुने खालका प्रमाणहरु प्राप्तीको चरणमा रहेको डीआईजी सुवेदीको दाबी छ ।

विगतमा भएका कमजोरीलाई सच्याउँदै त्रुटिरहित ढंगले अनुसन्धान जारी राखिएको उनको भनाइ छ । पुराना सकारात्मक कुरा अहिले प्राप्त नयाँ विषयलाई समायोजन गरेर आफूहरु अनुसन्धानमा जुटेको सुवेदी बताउँछन् ।

०७५ साउन १० गते साथीको घर गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुले पनि साढे दुई वर्ष बितिसक्दा घटनामा कसको संलग्नता थियो भन्ने पहिचान हुनसकेको छैन । यो अवधिमा प्रहरीले एक हजार बढीको बयान गरिसकेको छ । शंकास्पदहरु थुप्रै भेटिए पनि अनुसन्धानमा सहयोग पुग्ने प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन ।

अनुसन्धानमा ८० जना बढीको डीएनए परीक्षण भइसकेको छ । जसमा केही सेनाका जवानको समेत रगत लिइएको थियो । अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली सक्रिय छ ।

अनुसन्धानको दायरामा सेनाका जवान, नजिकका आफन्त, आपराधिक पृष्ठभूमिका केही व्यक्तिलगायतलाई राखिएको छ । पछिल्लो समय प्रहरीले फरक–फरक ‘टाइमिङ’लाई आधार बनाएरसमेत अनुसन्धान अघि बढाएको अधिकारीहरु बताउँछन् ।

कतिपय सन्दर्भमा भने प्रहरी अधिकारीकै मत अनुन्धानका क्रममा बाझिएको छ । तर, सबैजसो अनुसन्धान टोलीले घटनास्थल भने उखुबारी नै भएको निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्