site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेमा फर्कन ओलीको प्रस्ताव, ७० वर्षे उमेरहद हटाए सोच्न सकिने वामदेवको जवाफ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । बुधबार दिउँसो ललितपुरको भैँसेपार्टीस्थित गौतमनिवास पुगेका ओलीले त्यस्तो आग्रह गरेका हुन् ।

७० वर्षे उमेरहद हटाए सोच्न सकिने जवाफ वामदेवले ओलीलाई दिएका छन् । “तपाईंले बनाएको पार्टी हो, किन पार्टीबाट बाहिर बस्नुहुन्छ, पार्टीमा पर्खनुस भन्नुभयो,” गौतमले बाह्रखरीसँग भने, “त्यहाँ (७० वर्षे) उमेरहद छ, मैले पहिले उमेर हद हटाउनुस्, त्यसपछि आउन सक्छु भनेको छु ।”

७० वर्षे उमेरहद हटाए एमालेमा फर्कनुहुन्छ त ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “हटाउन सक्नुभयो भने हामी जान सक्छौँ । हटाउन नसके त नजाने सुनिश्चित नै भयो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेको विधानमा सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य हुन ७० वर्ष उमेर नपुगेको हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउन माग हुँदै आएको छ ।

332671378_193401686633884_7948859410781553344_n1677669330.jpg

एमालेका तत्कालीन उपाध्यक्ष गौतमले ०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए । नेकपा विवाददेखि नै पार्टी एकता अभियान चलाएका गौतमले हाल नेकपा एकता राष्ट्रिय अभियानको पार्टीको नेतृत्व गरिरहेका छन् ।

अहिले राष्ट्रियसभा सदस्य समेत रहेका गौतमलाई नेकपा (एकीकृत समाजवादी)ले पनि पार्टीमा आउन आग्रह गरिरहेको छ ।

भेटवार्ताका क्रममा ओलीले पार्टीका तर्फबाट राष्ट्रपति पदको उमेदवार रहेका सुवास नेम्वाङलाई भोट दिन समेत आग्रह गरेका थिए ।

करिब एक घण्टाको भेटवार्तामा ओलीले गौतमलाई पार्टीमा नै फर्कन जोड दिएका थिए । “नेम्वाङजीलाई त तपाईंले भोट हालिहाल्नुहुन्छ, म मत हाल्नुस् भन्न आएको होइन, तपाईं पार्टीमा फर्कनुस् भन्न आएको हो,” ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने ।

नेम्वाङलाई भोट दिने गौतमले जवाफ दिएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा हुँदै छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्