site stats
बाह्रखरी :: Baahrakhari
देश
नवराजपुरका तत्कालीन अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन प्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रशासकीय भवन निर्माण गर्दा उनीहरूले ३४ लाख ३९ हजार १८९ रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित मंगलबार (जेठ १३) अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा नवराजपुर गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष शोभा कुमारी, नवराजपुर–४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नम्बर–५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यदाव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन इन्जिनियर कृष्णा साह, तत्कालीन सबइन्जिनियर जयनारायण यादव, तत्कालीन लेखापाल सोमप्रसाद आचार्य छन् । 

नवराजपुर गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजयप्रसाद यादव, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यदाव र कोषाध्यक्ष कोशीलादेवी यादवविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

नवराजपुर गाउँपालिकाको प्रशासकीय भवनको डीपीआर तर्जुमादेखि निर्माण कार्यको भुक्तानीसम्मका काममा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । उनीहरूले ३४ लाख ३९ हजार १८९ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय