site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटले निजी क्षेत्रका सुझावलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको बताएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशनको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लिखित सुझावहरू दिएको उल्लेख गर्दै धेरैजसो सुझावहरू बजेटमा समेटिएको बताए । बजेटमा समावेश भएका विषयहरू आउने दिनमा कार्यान्वयन हुँदै गए निजी क्षेत्र र नागरिकले चाहेको नतिजा निस्कने जिकिर गरे । उनले आगामी बजेटले नयाँ विषयहरूलाई पनि समेटेको बताउँदै यसले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए ।

“हिजो मात्रै बजेट आएको छ, बजेटमा निजी क्षेत्रले उठाएका धेरै कुराहरू, उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला माननीय उपप्रधान तथा अर्थमन्त्री ज्यूलाई कार्यालयमै बोलाएर लिखित सुझावहरू दिएका थियौँ । त्यो सुझावमध्ये धेरैजसो सुझावहरू बजेटमा समेटिएको छ । बजेटमा समावेश भएका कुराहरूलाई आउने दिनमा कार्यान्वयन हुँदै गयो भने पक्कै पनि निजी क्षेत्रले चाहेको र पब्लिकले चाहेको चिजहरूको रिजल्ट आउनेछ भन्ने कुरा म राख्न चाहन्छु । अहिलेको बजेटले नयाँ विषयहरूलाई पनि समावेश गरेको देखिन्छ,” उनले भने ।

उनले उद्योग वाणिज्य महासंघ र अडिटर्स एसोसिएसनबीचको सहकार्यलाई आउने दिनमा अझै प्रगाढ बनाएर लैजाने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय