site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानले आफ्ना लडाकु विमान खसालेको भारतद्वारा स्वीकार

काठमाडौं । मे महिनाको सुरुमा पाकिस्तान–नियन्त्रित क्षेत्रमा हवाई हमलाका बखत धेरै भारतीय लडाकु विमान खसालिएको भन्ने पाकिस्तानको दाबी भारतीय सेनाले पहिलोपटक स्वीकार गरेको छ । यसअघि भारतीय अधिकारीहरूले विमान नष्ट भएको विषय पुष्टि गर्न अस्वीकार गरेका थिए ।

ब्लुमबर्गका संवाददाताले शनिबार भारतीय सेना प्रमुख अनिल चौहानसँग सोधे, “६ वटा भारतीय विमान खसाएको पाकिस्तानको दाबी सही हो ?” चौहानले सुरुमा त्यो दाबी गलत भन्दै खण्डन गरे, “बिल्कुल गलत, र यो कुरा महत्त्वपूर्ण पनि होइन ।”

तर उनले थपे, “महत्त्वपूर्ण भनेको किन ती विमान खसालिए ?” यो भनाइले के संकेत गर्छ भने दुई परस्परविरोधी देशबीचको युद्धमा धेरै विमान खसालिएको थियो । तर कतिवटा भन्ने उनले पुष्टि गरेनन् । सिंगापुरमा एसियाको प्रमुख रक्षा फोरम सांग्रिला डायलगमा बोल्दै उनले भने, “त्योभन्दा महत्त्वपूर्ण के हो भने हामीले त्यसपछि के गर्‍यौँ ।”

यसैबीच, एक अन्य प्रश्नको जवाफमा भारतीय सैनिक प्रमुखले भारतीय सेनाले सामरिक गल्ती गरेको स्वीकार गरे । उनले भने, “राम्रो कुरा के भने हामीले आफ्नो गल्ती बुझ्यौँ, त्यसलाई सच्यायौँ, दुई दिनपछि फेरि सबै जेट उडाएर लामो दूरीमा लक्ष्य गर्न सफल भयौँ ।”

मे महिनाको सुरुमा भारतले सैन्य अभियान सुरु गरेपछि पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरेका थियो ।  पाकिस्तानले चिनियाँ लडाकु विमान प्रयोग गरेर भारतीय तीन फ्रान्सेली राफेल विमान समेत ढालेको दाबी गरेको थियो ।

यी दाबीको खण्डन गर्दै भारतीय जनता पार्टीका प्रवक्ता नलिन कोहलीले सीएनएनलाई भनेका थिए, “यदि त्यस्तो भएको भए, हामीले निश्चय नै बताउँथ्यौँ ।”

एक फ्रान्सेली गुप्तचर निकायका अधिकारीले सीएनएनलाई भारतीय वायुसेनाको एक राफेल विमान पाकिस्तानले खसालेको र अरू धेरै खसालिएको छ कि छैन भन्ने जाँच गरिरहेको बताएका थिए । भारतीय प्रत्यक्षदर्शीहरूले पनि आकाशबाट आगो लागेको एउटा विमान खसेको देखेको बताएका थिए ।
सीएनएन
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय